Skip to main content

Posts

आध्यात्मिक महत्वलाई बुझौं- सूचना तथा संचारमन्त्री

वीरगंज, २९ साउन । सूचना तथा संचार मन्त्री शंकर पोखरेलले शान्ति, सुख आमा भएको हुंदा आध्यात्मिक महत्वलाई बुझ्नुपर्ने बताएका छन्। आज ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजको झांकी तथा प्रवचन कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पोखरेलले सो कुरा बताएका हुन्। कार्यक्रममा कृष्णाष्टमीको अवसरमा विभिन्न झांकी प्रदर्शन गरिएको थियो । कार्यक्रममा सभासद, नागरिक समाज, पार्टी प्रतिनिधि लगायतको उपस्थिति थियो।

सडक दुर्घटनामा दुइजना घाइते

मकवानपुर, २९ साउन । मकवानपुरको दुइ स्थानमा सडक दुर्घटना हुंदा दुइजना घाइते भएका छन्। गए राति पौने १० बजे खहरेमा ना.१च ८६४५ नंंको भेनले बा.१०प ४७४८ नं.को मोटरसाइकललाई ठक्कर दिएपछि हटीया-८ बस्ने लक्ष्मण गुरुङ घाइते भएका छन्। घटनापछि दुवै चालक सवारी साधन छाडेर फरार भएका छन्। यसैगरी गए राति सवा १० बजे थानाभर्‍याङ नजिकै ना.१प ७३८९ नं.को मोटरसाइकलको ठक्करबाट पैदल यात्री बारा रतनपुर-८ बस्ने रमेश घिमिरे घाइते भएका छन्। दुवै घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको छ।

वर्षा, पहिरो र चटयाङबाट क्षति

वीरगंज, २९ साउन । अबिरल वर्षासंगै पहिरो र चटयाङमा परेर सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा धनजनको क्षति भएको छ। प्राप्त जानकारी अनुसार बुधवार सांझ सिन्धुपाल्चोकको अतरपुर-९ निवासी ३६ वर्षीया शान्ता के.सी.लाइ चटयाङ लागेपछि गम्भीर घाइते भएकी छन्, उनको खाडीचौर अस्पतालमा उपचार भइरहेको छ। यसैगरी नुवाकोट, मदनपुर-१ बस्ने कृष्ण बहादुर नेपालीको घर गोठमा पहिरो खसेपछि १ गोरु, १ गाइ २ वटा वाच्छाको बगाएर मृत्यु भएको छ भने रसुवाको ठूलोगाउंमा बाढी पसेपछि मइत गुरुङ, वीचबहादुर गुरुङको बारी र पुलहरु बगाएको प्रहरीले जनाएको छ।

१०८ कुमारी तथा स्त्रीहरुको कलश यात्रा

वीरगंज, २९ साउन । कृष्ण जन्माष्टमीको अवसरमा श्रीमदभागवत कथामृत ज्ञान महायज्ञको यही साउन ३० गते गीता मन्दिर प्रांगणमा बिहान ८ बजेदेखि हुने भएको छ। आज बिहान ९ बजे गीता मन्दिरबाट निस्किएको १०८ कुमारी कन्या एवं शौभाग्यवती स्त्रीहरुको कलश यात्राले घडीअर्वा पोखरीमा पुगेर जल भरेर नगर परिक्रमा गरेको थियो।

भुटानी शरणार्थीद्वारा स्थायी कार्य दल/आयोग गठन गर्न आग्रह

काठमाडौं, २९ साउन । भुटनीज मुभमेन्ट स्टेरिङ कमिटीले आज प्रधानमन्त्रीलाइ तीन बुंदे मांगसहितको ज्ञापनपत्र बुझाएको छ। आज बिहान स्टेरिङका सभापति टेकनाथ रिजाल र भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले प्रधानमन्त्री माधवकुमार नेपाललाई उनकै निवास वालुवाटारमा भेटेर ज्ञापनपत्र दिएका हुन्। ज्ञापनपत्रमा शरणार्थीलाइ पहिलो स्वदेश फिर्ती, दोस्रोमा शरणभूमिमा समायोजन र अन्त्यमा तेस्रो मुलुक पुनर्वासको ढोका खोलिनु पर्ने लगायत उल्लेख छ। ज्ञापनपत्रमा नेपालमा सरकारको फेरबदल संगसंगै भूटानी शरणार्थी समस्यामा पनि अन्योलमा परेको हुंदा स्थायी कार्य दल/आयोग गठन गर्न आग्रह गरिएको छ।

तीन दिनभित्र क्षतिपुर्ति दिने सहमतिपछि सडक सुचारु

वीरगंज, २९ साउन । सडक दुर्घटनामा मृत्यु भएका सहचालकका परिवारले अवरुद्ध गरेको पूर्व पश्चिम महेन्द्र राजमार्गको पथलैया सडकखण्ड सुचारु भएको छ। आज बिहान सर्वपक्षीय छलफलमा तीन दिनभित्र उचित क्षतिपुर्ति दिने सहमति भएपछि पीडितका परिवार तथा यातायात मजदूरले आन्दोलन फिर्ता लिएका हुन्। गत साउन २८ गते कविलास-५ घुमाउने भन्ने स्थानमा ना.३ख ४१२७ नंंको ट्रकबाट खसेर सोही ट्रकको सहचालक पिपरा सिमरा-९ निवासी करिब २६ वर्षीय रन्जु लामाको मृत्यु भएको थियो। मृतकका परिवारले रु ३ लाख क्षतिपुर्तिको मांग गर्दै ट्रकमा शव राखेर बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए।

जग्गा सम्बन्धी विवादका कुटाकुट

वीरगंज, २९ साउन । जग्गासम्बन्धी दुइ समूहबीच कुटाकुट हुंदा तीनजना घाइते भएका छन्। गए राति ८ बजे बाराको, बन्जरिया-५ निवासी विद्यानन्द साह कानु र प्रभु महत्तोवीच विवाद भइ कुटाकुट हुंदा विद्यानन्दकी पत्नी सीता देवी, उमेश साह र रामदेव महत्तो घाइते भएका हुन्। घाइतेको ना.उ.क्षे.अस्पताल वीरगंजमा उपचार भइरहेको छ।