Skip to main content

Posts

प्रजिअले वाणिज्यदूतलाई अहिलेसम्म चिनेका रहेनछन्

वीरगंज, ३ पुष । पर्साका प्रमुख जिल्ला अधिकारी यादव कोइरालाले भारतीय राजदूत राकेश सुद तथा वीरगंजस्थित रहेको भारतीय महावाणिज्य दूतावासका दूत टि. अशोकलाई अहिलेसम्म चिन्न नसकेको देख्दा उपस्थित व्यक्तिहरू चकित परेका थिए। पुस २ गते सम्पन्न ग्यालेक्सी स्कूलको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोइरालाले प्रमुख अतिथिका रूपमा रहेका वीरगंज वाणिज्य दूतावासका दूत टि. अशोकलाई भारतीय राजदूत राकेश सूदको रूपमा सम्बोधन गरेको देख्दा प्रजिअसंगै बसेका राष्ट्रिय अनुसन्धानका उपरीक्षकसमेत मुसुक्क हा“सेका थिए। मन्तव्य पछि वाणिज्यदूत टि. अशोकले आफ्नो परिचय प्रजिअलाई दिंदा उनी लाजले भुतुक्क भएर कार्यक्रम नसकिदै सो स्थानबाट बाहिरिएको दृश्य देखिएको थियो।

गरिबहरुलाई रिक्सा हस्तान्तरण

-उत्तम खडगी वीरगंज, २ पुस। वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत शिवदत्त भटराइले गरिबी निवारणको लागि वीउमनपा र लुमन्तिले विभिन्न कार्यक्रम ल्याएको बताएका छन्। आज शहरी सामुदायिक सहयोग कोष पर्साको आयोजनामा वीरगंजको भगवती टोलमा आयोजित रिक्सा हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। दलित र अति पिछडिएको वर्गहरुको जीवनस्तर उकास्न स्थानीयवासीलाई १० वटा रिक्सा हस्तान्तरण गरिएको हो। प्रत्येक महिना रु १५ सय रिक्सा लिने व्यक्तिले तिर्नुपर्ने छ।

१४ वर्षीया किशोरीद्वारा रामकथा

वीरगंज, ३ पुष। पुरुषार्थी अन्त समूहको आयोजनामा आजदेखि वीरगंजको राणी सति अतिथि मन्दिरमा एक १४ वर्षीय किशोरीद्वारा श्रीराम कथावाचन सुरु भएको छ। आज बिहान मन्दिरबाट कलश शोभा यात्रा निस्केको थियो। सो शोभायात्रामा स्कूलका बालिकाहरु स्थानीय महिला तथा पुरुषहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

पांच महिनाभित्र संविधान निर्माण हुने- सोनल

वीरगंज, ३ पुष । तराइ मधेश लोकतान्त्रिकका महामन्त्री जीतेन्द्र सोनलले पांच महिनाभित्र संविधान निर्माण हुने बताएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्ष्ँात्कार बोल्दै समग्र मधेश एक प्रदेशको भावना विपरित संविधान बनेमा आन्दोलन गर्ने चेतावनी दिए। माओवादीले स्वायत्त गणराज्य घोषणा गर्नु गलत रहेको भन्दै तमलोपाले यसको विरोध गर्ने सोनलले बताए। उनले मधेशको बारेमा निर्णय गर्ने अधिकार कुनै पार्टी र सरकारलाइ नरहेको भन्दै माओवादीले राष्ट्रमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए। उनले मधेशवादी दलहरु एक हुनुपर्ने कुरामा जोड दिंदै संविधान नबनुन्जेल सम्म सबै एक ढिक्का हुनुपर्ने कुरामा जोड दिए।

पत्रपत्रिका वर्गीकरणको मांग गर्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिको २५ हजार लिएर महासचिव धीरेन्द्र झा मैथिल फरार

काठमाडौं, २ पुस । पुन पत्रपत्रिकाको वर्गीकरणको मांग गर्दै संघर्षमा उत्रिएका सम्पादक प्रकाशक राष्ट्रिय संघर्ष समितिको २५ हजार लिएर समितिका महासचिव धीरेन्द्र झा मैथिल फरार भएका छन्। पुस १ गते धीरेन्द्र झा मैथिलले संघर्ष समितिलाइ जानकारी नै नगराइ रु २५ हजार लिएर फरार भएको संघर्ष समितिले जनाएको छ। प्रेस काउन्सिल नेपालद्वारा पक्षपात एवं धांधलीयुक्त वर्गीकरण गरेको विरूद्ध गठित संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्दै आइरहेको थियो। आन्दोलन तुहाउन मैथिलले नगद लिएर फरार भएको प्राप्त जानकारीमा उल्लेख छ।

फोर्सद्वारा समग्र मधेश एक प्रदेशसहित मधेश राज्य घोषणा

वीरगंज, २ पुष । माओवादीले गणराज्य घोषणा गरेको विरुद्ध स्वतन्त्र मधेशी युवा फोर्स पर्साले पनि समग्र मधेश एक प्रदेशसहित मधेश राज्य घोषणा गरेको छ। आज वीरगंजको घण्टाघरमा फोर्सका एक युवक वीरबहादुर कुशवाहाले मधेश राज्य घोषणा गरेका हुन्। घोषणा सभालाइ सम्बोधन गर्दै के. अध्यक्ष प्रदीप विश्वकर्मा माओवादीहरुले गणराज्य घोषणा गरी मधेशीहरुको भावना विपरित भएको भन्दै मधेश राज्य घोषणा गर्नुपरेको बताए। उनले गणराज्य घोषणा गरिरहने हो भने रौतहट घटना पुन दोहोर्‍याउने चेतावनी दिए।

पचास किलो अवैध गाँजा बरामद

बीरगन्ज,२ पुस/ ससस्त्र प्रहरीले बिहिबार पर्साको महादेवपट्टीमा पचास किलो अवैध गाँजा बरामद गरेको छ । ससस्त्र प्रहरी बेस क्याम्प सुर्वणपुरबाट गएको गस्ती टोलीले माहादेवपट्टी ७ गम्हरीया बाट साइकल सहित पचास किलो गाँजा बरामद गरेको हो । ससस्त्र प्रहरी निरीक्षक देवबहादुर चन्दको नेतृत्वमा गएको गस्ती टोलीलाइ देखेपछि गाँजा तस्कर गाँजा छोडेर फरार भएको प्रहरीले जनाएको छ । बरामद गाँजा जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरी निरीक्षक चन्दले बताए ।