वीरगंज २६ भदौ । वीरगंज उद्योग वाणिज्य संघ तथा नेपाल गुणस्तर तथा नापतौल विभागको संयुक्त आयोजनामा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन विषयक एक गोष्ठीको आयोजना भयो। सो एक दिने गोष्ठीमा वीरगंज-पथलैया कोरिडोरका प्रमुख उद्योगहरुका प्रबन्धकहरु तथा ट्रेड यूनियनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। संघका अध्यक्ष ओम प्रकाश सिकरियाको अध्यक्षतामा संचालन भएको उक्त गोष्ठीमा गुणस्तर विभागका निर्देशक रोमी मानन्धर उपनिर्देशक गजेन्द्र कुमार पौडयाल विशेषज्ञ अशोक कपूर संघका पदाधिकारी एवं सदस्यगण गणेश लाठ अशोक टेमानी अशोक बैद्य गोपाल केडिया प्रदिप केडिया दीपक टिवडेवाल तारा प्रसाद कलवार सुबोध गुप्ता शिवजी कलवार गोविन्द शाह र अनिल अग्रवाल आदि समेतको उपस्थिति रहेको थियो।
कार्यस्थलमा हुन सक्ने दुर्घटनाको संभावना नियन्त्रण गर्न ओएचएसएएस १८००१-२००७ प्रणालीको विशेष महत्व रहेको हुन्छ । व्यवसायजन्य सुरक्षाको लागि विश्वभरी यो प्रणालीलाई मानक मापदण्डको रुपमा मान्यता प्राप्त छ। बेलायती गुणस्तर विभागले सर्वप्रथम यसलाई अंगीकार गरेको थियो। त्यसको आधारमा नै विश्वभरी प्रयोगको लागि यो प्रणाली सन् १९९९ मा सर्वप्रथम प्रकाशित गरिएको थियो। उद्योगहरुले आफनो कार्यस्थलमा हुने प्रकृयाहरुको अडीट गरेर दुर्घटना नियन्त्रणको लागि असुरक्षाका कारणहरुलाई हटाउनु पर्ने हुन्छ। दुर्घटनालाई पूर्णरुपले निर्मूल गर्न नसके पनि निश्चित रुपबाट नियन्त्रण गर्न सकिन्छ। कार्यस्थलमा व्यवसायजन्य स्वस्थ्य तथा सुरक्षा प्रणाली लागु गर्दा कार्यस्थलको वातावरण राम्रो हुने भएकोले यसबाट उत्पादकत्वमा पनि सकारात्मक प्रभाव पर्दछ। वीरगंज उद्योग वाणिज्य संघ उद्योगहरुमा दुर्घटना नियन्त्रणको लागी उद्योग प्रबन्धकहरुलाई तालिम प्रदान गर्न फेरी फेरी यस्तो गोष्ठी आयोजना गर्ने कुरा संघका उपाध्यक्ष अशोक बैद्यले बताए। सुरक्षा व्यवस्थापन प्रणाली उद्योगपति कर्मचारी र श्रमिकहरुको सामुहिक दायित्व भएकोले यसको लागि सवैले आ-आफनो भुमिका खेल्नु पर्ने कुरा महासचिव गोपाल केडियाले भने।
Comments
Post a Comment