काठमाडौं, कात्तिक ११ । नेपाल शेर्पा संघले स्वायत्त शेर्पा प्रदेशको सुनिश्चितता नभए कडा आन्दोलनको चेतावनी दिएको छ । आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी पृथक भाषा र संस्कृतिसहित भिन्न भूगोलमा रहेका शेर्पाहरुको अधिकारसहितको प्रदेश निर्माणको माग गरेको हो ।
संघका अध्यक्ष पेमा छिरी शेर्पाले ताप्लेजुङको कञ्चनजंघा हिमाल देखि पश्चिमको गणेश हिमाल सम्मको भूगोललाई जातीय आधारमा शेर्पा स्वायत्त प्रदेश स्थापना गर्नुपर्ने बताए । प्रदेश निर्माणका लागि सम्पूर्ण राजनीतिक दलहरुलाई ज्ञापनपत्र दिने, शेर्पा समुदायको महान चाड च्छोखोरलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिलाउन आवश्यक कदम चाल्ने बताए । माग पूरा गर्न शेर्पा स्वायत्त प्रदेशभित्र पर्ने सम्पूर्ण जिल्लाहरुमा दबाबमूलक कार्यक्रम थालनी गर्ने बताए ।
यसैगरी संघको चौंथो महाधिवेशनले पेमा शेर्पाको अध्यक्षतामा ५७ सदस्यीय कार्यसमिति चयन गरेको जानकारी गराइयो । जसमा लाक्पा ठिलेन शेर्पा वरिष्ठ उपाध्यक्ष, दोर्जी जाङबु लामा उपाध्यक्ष, गेल्जे लामा शेर्पा उपाध्यक्ष, प्रि लाक्पा शेर्पा उपाध्यक्षलगायत छन् ।
Comments
Post a Comment